काठमाडौँ, पुस २०
संसदको सार्वजनिक लेखा समिति सदस्य रहेका सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले वाइडबडी प्रकरणमा सरकारको बचाउ गरेका छन् । शुक्रबार बसेको लेखा समितिको बैठकमा उपस्थित सत्तारूढ दलका अधिकांश सांसदले वाइडबडी खरिद प्रकरणमा संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको बताएका हुन् ।
यसअघि उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण भएको भन्दै सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएको थियो । बैठकमा बोल्दै सांसद विशाल भट्टराईले प्रतिवेदनले अन्याय गरेको बताए । नेकपाकी सांसद पुष्पाकुमारी कर्णले पनि प्रतिवेदनमा त्रुटी भएको बताइन् । उनले प्रतिवेदनमा नाम तोकिएका सबै सचिवहरूको राय लिन सुझाव दिइन् ।
अर्का सांसद सूर्य पाठकले समिति सदस्यले थाहा पाउनु पहिले नै उपसमितिको प्रतिवेदन मिडियामा आएकोमा आपत्ति जनाए । उनले पूर्वपर्यटन सचिव प्रेमकुमार राई र निगम महाप्रबन्धक सुगतरत्न कंसाकारलाई एउटै घानमा हाल्न नमिल्ने बताए । जहाज खरिदको बिल पनि नपाएकाले उपसमितिको प्रतिवेदन अपुरो भएको उनको तर्क छ ।
अर्का सांसद यज्ञबहादुर बोहराले उपसमितिको प्रतिवेदन समितिलाई बुझाउनु अघिल्लो दिन सार्वजनिक हुनु गैरजिम्मेवारी भएको बताए । यस्तै सांसद पार्वती कुमारी विशुन्खेले खरिद प्रक्रियाको प्रपञ्च गर्नेलाई कम र अन्तिम किस्ता दिएर जहाज बुझ्नेलाई बढी दोषी किन देखाइयो भनी प्रश्न गरेका छन् । अर्का सांसद लेखराज भट्टले प्रतिवेदनमा कमजोरी रहेको बताए । समितिको शुक्रबारको बैठकमा प्रतिवेदनमा सहमति जुटन नसकेपछि सोमबारसम्मका लागि बैठक स्थगित भएको छ ।