विराटनगर, पुस २०
मोरङको कटहरीमा रहेको गोपाल फन पार्कले मिनि रेल सञ्चालनमा ल्याएको छ । फनपार्कमा २५ लाखको लागतमा निमार्ण गरिएको २० जना अट्ने रेल गत मंगलबार बाट सञ्चालन ल्याइएको हो । डिजेलबाट चल्ने सो रेलमा ५ वर्षमुनीका बालबालिकाहरुले नि : शुल्क चढन पाउनेछन ्भने ५ देखि १२ वर्ष सम्मकालाई ५० रुपैँया र त्यसभन्दा बढी उमेरका मानिसको १०० रुपैंया शुल्क लाग्ने छ ।
विराटनगर नजिकै हाटखोला पुर्व रहेको सो फनपार्कमा एक वर्षमा २० लाखको कारोबार भएको सञ्चालकले बताएका छन् । फनपार्कमा मनोरञ्जनका लागि रेल उपयुक्त ठानेर सञ्चालनमा ल्याएको सञ्चालक शम्भु कामतले बताए । उनले रेल चाँडै नै फनपार्कको पुर्ण क्षेत्रफलमा चलाउने उद्देश्य राखिएको पनि बताए ।
गत वर्षको पुस १६ गतेबाट सञ्चालनमा आएको पार्क करिब १३ विघा क्षेत्रफलमा फैलिएको छ । फन पार्कमा प्रवेश शुल्क ५० रुपैंया रहेको छ भने सशुल्क तथा निशुल्क विभिन्न किसिमका खेलहरु रहेका छन् । सो पार्कमा बोटिङ, बच्चालाई क्रिकेट खेलाउने मेसिन, कमाण्डो नेट, मिक्की माउस, जम्पिङ, रनिङ फिट, चिप्लेटी, चक्डी लगायतका खेल तथा मनोरञ्जनात्मक सामाग्रीहरु रहेका छन् ।
नेपालमै पहिलो सहासिक खेल र १२ सय जना क्षमताको पिकनिक स्पट पनि पार्कमा उपलब्ध छ । सो फनपार्कमा घुम्नको लागि बालबालिका, विद्यार्थी तथा युवाहरुको बाक्लो उपस्थिती रहने गरेको छ । फन पार्कमा विशेषगरी शनिबार मानिसहरुको घुम्नका लागि भिँड लाग्ने गरेको छ । त्याहाँ पुग्ने आन्तरिक पर्यटकहरुले पार्कमा परिवारसहित घुमेर दिन कटाउन सकिने बताउँछन् ।
विराटनगर नजिकै रहेकोले यस फन पार्कमा विशेषगरी विराटनगरबासीहरु नै घुम्न तथा रमाईलो गर्न जाने गरेका छन् । फनपार्कमा हालसम्म २ करोड बढीको लगानी भईसकेको र आवश्यक ठुला लगानीका कामहरु भने लगानीकर्ताको रुपमा रहेका गोपाल प्रसाद राठीले गर्ने सञ्चालक कामत बताउँछन् । रमणिय पार्कको रुपमा रहेको सो फन पार्कमा पार्टी प्यालेस र सेमिनार हलपनि एक महिनाभित्रै सञ्चालनमा आउने बताईएको छ । पछिल्लो समय आम नेपालीमा घुम्ने बानीको विकास हुँदै गएको छ । जसका कारण आन्तरिक पर्यटनको विकासमा ठूलो टेवा पुग्न थालेको छ ।