लाइसेन्समा अनियमितता गर्ने यातायातका ११ कर्मचारीलाई जेल

लाइसेन्समा अनियमितता गर्ने यातायातका ११ कर्मचारीलाई जेल

काठमाडौँ : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही आठ हजार रुपैयाँ जरिवानासहित तीन महिना जेल तोकिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । त्यस्तै, अधिकृत डेकराज पोखरेल, नायब सुब्बाहरू डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही पाँच हजार जरिवानासहित तीन महिना जेल सजायको फैसला भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ असार ०७४ मा लाइसेन्स वितरणमा लाखौँको चलखेल गरेको आरोपमा कार्यालय प्रमुख पवन सुवेदीसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । चारपांग्रे सवारीसाधनको अनुमतिपत्रको लिखित परीक्षामा भ्रष्टाचार भएको सूचना पाएको अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । २३ हजार लाइसेन्स वितरणमा आर्थिक चलखेल गरेको प्रमाण भेटेपछि प्रमुख सुवेदीलाई निलम्बन गरेरै मुद्दा चलाएको थियो ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.