विराटनगर, पुस २४
विराटनगरमा मंगलबारदेखि राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा विराटनगरस्थित शहीद रंगशालाको कवर्ड हलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल सहित मलेसिया, भारत, बंगलादेश म्यानमार लगायतका अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल र महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल र महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल र महिला डवलका इभेन्ट्का खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफि हातपार्ने संघका जिल्ला अध्यक्ष कौरव वस्नेतले जानकारी दिए ।
नेपालमै पहिलो पटक सुरु भएको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागितामा रहेको छ । खेल प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले देशलाई समुन्न्त र अनुशासित बनाउन खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनले देशको विकासका लागि र नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न नयाँ नयाँ आयामहरु भित्र्याउन आफूहरु लागि परेको बताए ।