काठमाडौं : नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बहाना गर्दै रोक लगाउँदा व्यवसायी मारमा परेका छन्।ट्रान्जिट परमिटका कारण अनेकाैँ झमेला थोपर्दै आएको भारतले पछिल्लो समय ‘सूचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा राेक लगाएको हो।,याे खबर आजको राजधानी दैनिकमा छ।
एक महिनायता रूपैडियाको भारतीय कस्टमले सूचीकृतभन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिमाणमा नेपाली जडिबुटी गोदाममा थन्किएको ब्यवसायीको गुनासो छ।
जडिबुटीका प्रमुख निर्यातकर्ता नेपाल हर्ब प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक तथा नेपाल जडिबुटी व्यवसायी संघका उपाध्यक्ष शकिल अहमद जसगढले भारतले रूपैडिया नाकाबाट जडिबुटी निकासा गर्दा पहिलेदेखि नै अंकुश लगाउने गरेको बताए।
‘भारतमा सूचीकृत नेपाली जडिबुटीको संख्या मुस्किलले २० वटा छ तर अन्य जडिबुटीको संख्या ५० देखि एक सयसम्म छ’, उनले भने।
सूचीमा नपरेका कुरिलो, चिराइतो, पदमचालजस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन्। सूचीमा परेका जडिबुटी एक महिनादेखि निकासी हुन नपाउँदा नेपालगञ्ज गोदाममै थन्किएर रहेको व्यवसायीको गुनासो छ।