विराटनगर, पुस २६
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयको गुणस्तरबृद्धि गर्नुपर्ने बताएका छन् । उनले सरकारी विद्यालयहरुलाइृ निजिसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताए ।
बिहिबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै कार्कीले पछिल्लो समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास र उठिरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा जोड दिएका हुन् ।
शिक्षामा एकरुपता कायम गर्न राज्यले आयोग बनाएर विज्ञहरुसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा संघिय सरकारले कस्तो निष्कर्ष निकाल्छ त्यसलाई भने पर्खिनुपर्ने बताए । यद्यपी राज्यको सम्पूर्ण लगानी भएका विद्यालय र राज्यको कानूनतः सञ्चालन भएका निजि विद्यालयको गुणस्तरमा आकाश जमिनको भिन्नता देखिएकाले त्यसको दुरी कम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतिमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशिलताले मात्र भएको बताए ।
विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालयको शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताए । आइतबार समापन हुने खेलकुद सप्ताहको पहिलो दिन विहिबार कक्षा १ देखि ५ सम्मका बालबालिकाले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । शुक्रबार कक्षा ६ र ७ र आइतबार ८ कक्षा र त्यसमाथिका कक्षाबिच खेलकुदको कार्यक्रम हुने विद्यालयले जनाएको छ ।