विराटनगर, पुस २६
प्रदेश सरकारले पर्यटन प्रर्वद्धनका लागि मोरङको पथरीशनिश्चरेमा धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई समेटेर सांस्कृतिक ग्राम निर्माण गर्ने भएको छ । पथरी शनिश्चरे नगरपालिका –१० स्थित भुटानी शरणार्थी शिविरमा उनीहरुको पुर्नबासपछि खाली भएको सय बिघा क्षेत्रफलमा सांस्कृतिक ग्राम निर्माण गरिने भएको हो ।
सांस्कृतिक ग्राम निर्माणको लागि सोमबार बसेको प्रदेश सरकारको मन्त्रीस्तरको बैठकले डिपीआर निर्माण सम्बन्धी अवधारणा तयार गर्न स्थानीय राजनितिक अगुवा चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । सांस्कृतिक ग्राम निर्माण सम्बन्धी निश्चित कार्य तोकी बनाईएको सो कार्यदलको पहिलो बैठक प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको समेत उपस्थितीमा पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालयले सांस्कृतिक ग्राम निर्माणको लािग पहिलो चरणमा ५० लाख रुपैँया बजेट विनियोजन गरेको छ । सय विघा जग्गालाई सबैक्षेत्रको जनजीवन झल्काउने गरी हिमाली प्लट,पहाडी प्लट, तराई प्लट तथा हिमशृङ्खला, नदी प्रवाह र वनजंगल समेत देखिनेगरी विविध प्राकृतिक सम्पदाको प्लटमा विभाजन गरी ग्राम निमार्ण गरिने प्रदेश सरकारको योजना रहेको मन्त्री जिवन घिमिरेले जानकारी दिए ।
उनले भने ‘एक सय विघा जग्गालाई विभिन्न प्लटमा विभाजन गर्नेछौँ । एउटा हिमाली प्लट हुनेछ, त्यो हिमाली प्लटमा हिमाली जनजीवन देखिनेछ ।अर्को पहाडी प्लट हुनेछ, त्यहाँ पहाडी जनजीवन देखिनेछ । अर्को तराई प्लट हुनेछ , त्यहाँ तराईको सामाजिक र सांस्कृतिक जनजीवन देखिनेछ ।’
यस्तै मोरङको राजारानीमा सबैधर्मको साझाथलोको रुपमा शान्तिपार्क निर्माण गर्ने जिम्मा लिएको सामाजिक विकास मन्त्रालयले त्यसठाउँमा अर्को प्लटमा तीन धाम निर्माण गर्ने भएको छ । तीनधाममा खोटाङको हलेसी महादेवस्थान, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथिभरादेवीको हुबहु चित्रण गरिने छ । प्रदेशको पहिचानको रुपमा विकास गर्न लागिएको यस सांस्कृतिक ग्रामको नाम तीन धाम सांस्कृतिक ग्राम राखिने मन्त्री घिमिरेले पथरी शनिश्चरे नगरपालिकामा आयोजित कार्यक्रममा बताए ।
सांस्कृतिक ग्राम निर्माण सम्बन्धी गठन गरिएको कार्यदलले डिपीआर तयार गर्दा ध्यान दिनुपर्ने पक्षहरुको सिफारिस गर्ने, सांस्कृतिक ग्राम राख्न उपयुक्त हुने वस्तु तथा सामाग्रीको सुची तयार गर्ने, संरचना र कार्यविवरण तयार गर्ने, आवश्यक जनशक्ति र पुर्वाधारको प्रक्षेपण गर्ने तथा विभिन्न स्थानहरु झल्किने व्लकहरु के कस्ता र कसरी बनाउन उपयुक्त हुन्छ भन्ने कुराहरु लगायतको कामहरु गर्नेछ ।