इंग्लिस प्रिमियर लिग : चेल्सीले न्यु क्यास्टललाई हरायो

इंग्लिस प्रिमियर लिग : चेल्सीले न्यु क्यास्टललाई हरायो

एजेन्सी, पुस २९
जारी इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले न्यु क्यास्टल युनाइटेडलाई पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीले न्यु क्यास्टललाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र विलियनले गोल गरे । पराजित टोलीका लागि सियरन क्लार्कले एक गोल फर्काए । नवौं मिनेटमा नै चेल्सीले पेड्रोको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । पेड्रोले डेभिड लुइजसँगको वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा न्यु क्यास्टलका सियरन क्लार्कले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । रिट्चीले दिएको कर्नरमा सियरन क्लार्कले हेडमार्फत गोल गरेका थिए ।

५७औं मिनेटमा इडेन हाजार्डको पासमा विलियनले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले न्यु क्यास्टललाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

जितपछि चेल्सीले २२ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानलाई थप मजवुत बनाएको छ । ५७ अंक जोडेर लिभरपुल शीर्षस्थानमा रहेको छ । चेल्सी तेस्रो स्थानको टोटेनहमभन्दा १ अंकले पछि छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.