विराटनगर, पुस २९
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय क्षेत्रलाई जनताको मन जित्ने खालको संस्थाको रुपमा स्थापित गर्न सरकारले काम गरिरहेको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार विराटनगरमा आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता सम्बन्धी अन्तक्रियामा मन्त्री ढकालले अन्यायमा परेको मानिस न्यायालय पुगेपछि शितलताको अनुभूति गर्नसक्ने अवस्थाको सृजना गर्नुपर्ने बताए ।
उनले हाल न्यायापालिकाले स्थायी प्रकृतिको नेतृत्व पाएकाले न्यायालयप्रति जनताको आस्था र विश्वास थप बढ्ने उल्लेख गरे । मन्त्री ढकालले मुलुकी र देवानी संहिता सबैलाई समेटिएको साझा दस्तावेज रहेको बताउँदै यसलाई सफल बनाउन सबैको साझा प्र्रयासको खाँचो रहेको उल्लेख गरे ।
सरकारले दुई वटा विधेयकको रुपमा १६५ वटा कानूनलाई संशोधनको प्रक्रियामा लगिसकेको बताउदै मन्त्री ढकालले सर्वोच्च अदालतको एक हजार ३३९ रिक्त दरबन्दी परिपूर्ति गर्न स्वीकृत दिईसकेको जानकारीसमेत दिए । कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले संविधान, कानून र नागरिकको आचरण बीच अन्तर देखिएको बताउदै समाजलाई अगाडि बढाउन आमनागरिकले बुझ्ने गरी कानून बनाउनु पर्ने बताए । कार्यक्रममा स्थानीयतहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो ।