एजेन्सी, पुस ३०
स्पेनिस ला लिगा फुटबल अन्तर्गत कप्तान लियोनेल मेस्सीले बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेको खेलमा बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदानमा आईतबार राती भएको खेलमा उसका लागि अर्को दुई गोल लुइस स्वारेजले गोल गरे ।
एकपक्षीय बनेको खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भएको थियो । स्वारेजले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।
५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले लुइस स्वारेजको पासमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । यससँगै मेस्सीले ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरे । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । उनले बार्सिलोनामा १४ वर्षको अवधिमा ४०० गोलको कोसेढुङ्गा पार गरेका हुन् ।
५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ ।