बिराटनगर, माघ ३
१ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । खोटाङको बाह्रपोखरी गाउँपालिका–५ सोह्रखानीमा चिसापानीबाट बाक्सिला तर्फ गईरहेको को २ त ६१७४ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का २२ बर्षीय टंक श्रेष्ठको ट्रयाक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको छ ।
सोही घटनामा परी खोटाङ बराहपोखरी–४ का ३६ बर्षीय ईन्द्र श्रेष्ठ र उदयपुर चौदण्डी नगरपालिका–८ का देवकुमार राई घाइते भएका छन् । घाईतेहरुको बिराट मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेको छ ।
यसैगरी पाँचथरको पौवा भञ्याङबाट फिदिम नगरपालिका तर्फ गईरहेको को १ त २९६१ नम्बरको ट्रयाक्टर फिदिम नगरपालिका–२ मा आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार फिदिम नगरपालिका– २ का ४३ बर्षीय गोपाल नेपालीको घटनास्थलमा नै मृत्यु भएको छ ।
उक्त घटनामा परी ट्रयाक्टर चालक फिदिम–४ का २४ बर्षीय बिजय बर्देवा, सह–चालक फिदिम–२ का छवी दर्जी र ट्रयाक्टरमा सवार फिदिम–२ कै १२ बर्षीय उमेश दर्जी घाईते भएका हुन् ।घाईतेहरुलाई जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचार पश्चार थप उपचारको लागि बिर्तामोड तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–६ मा बा ११ प ५४२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला बारा निजगढ घर भई हाल ईटहरी–५ बस्ने २६ बर्षीय बिरेन्द्र भनिने दिपक राई र पछाडी सवार खुदुनावारी–८ झापाका १६ बर्षीय जिवन चौलागाई गम्भीर घाईते भएका छन् । घाईतेहरुको एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ ।