विराटनगर, माघ ३
नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच एकअर्कामा गाभिने सहमति भएको छ । २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्य सहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पोरेट तथा शाखा कार्यालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच दुबै बैंकका प्रमुखहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका क्षेत्रीय प्रमुख विनोद आचार्यको उपस्थितिमा भएको कार्यक्रममा सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष तारानाथ निरौला र काबेली बिकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा सप्तकोशी बैंकका अध्यक्ष निरौलाले मर्जरपछि प्रदेश नम्बर १ मा केन्द्रीय कार्यालय भएका नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ख बर्गको बैंक मध्ये सबैभन्दा धेरै जिल्लामा कार्यक्षेत्र भएको २८ वटा शाखा कार्यालय सञ्जाल भएको बैंक हुने बताए ।
मर्जर पश्चात २०७५ पौष मसान्तको विवरण बमोजिम निक्षेपकर्ताको संख्या ५८ हजार र कर्जा ग्राहक संख्या ८ हजार भएको बैंक हुने उनले जानकारी दिए । मर्जर भएपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड राखिने छ ।
बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिने छ । यस्तै २०७५ अषाढ मसान्तको विवरण अनुसार निक्षेप २ अर्ब ४२ करोड र लगानीमा रहिरहेको कर्जा २ अर्ब २६ करोड भएको बैंक हुने उनले जानकारी दिए ।