विराटनगर, माघ ३
अस्थायी शिक्षकहरुलाई कुनै पनि बहानामा अवकाश नदिई अनिवार्य अवकाश उमेरको हद लगाउन नपाइने भन्दै अस्थायी शिक्षकहरुले यही माघ ७ गतेदेखि आन्दोलन गर्ने भएका छन् ।
आन्दोलनका कार्यक्रम तय गर्न बिहीबार मोरङका अस्थायी शिक्षकहरुबीच विराटनगरमा छलफल समेत भएको छ । छलफल कार्यक्रममा बोल्दै अस्थायी शिक्षक संघ मोरङका अध्यक्ष अरविन्द यादवले अस्थायी शिक्षकहरुलाई उमेरको हदबन्दी नलगाउन तथा स्थायी प्रकृया अघि बढाउन सरकारसंग माग गरिएको बताए ।
अध्यक्ष यादवले देशभर १५ हजार अस्थायी शिक्षकहरुलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाएका छन् । शिक्षा ऐनको आठौ र नवौ संसोधनबाट अस्थायी शिक्षकहरुलाई पदमुक्त हुने परिस्थिति आएकोमा अस्थायी शिक्षकहरु घर न घाटको भएको उनीहरुको गुनासो छ ।