विराटनगर, माघ १४
गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दासमेत उपचार गर्न नसकी पीडाले तड्पिन बाध्य भएका मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राईलार्ई नोबेल अस्पतालले उद्धार गरी निशुल्क उपचारको ब्यवस्था मिलाएको छ ।
पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अस्पताल ल्याई निशुल्क उपचारको ब्यवस्था गरेका हुन । छोराछोरी र श्रीमतीलेसमेत माया मारेर छोडिसकेका राईलाई डा.शर्माले उद्धार गरी सम्पूर्ण खर्च बेहोरेर अहिले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् ।
‘बाँच्छु भन्ने आशा थिएन । यत्तिकै कुहिएर मर्छु भनेर हरेस खाईसकेको थिए ।’ पीडा सुनाउँदै राईले भने ‘नसोचेको साथ मिल्यो । सुनिल सरबाट । अब बाँच्ने आशा जागेको छ ।’ चन्द्रबहादुरको जस्तै दर्दनाक अवस्थामा तड्पिरहेका सुन्दरहरैचाका प्रकाश पौडेलको पीडा पनि कम छैन ।
थोत्रे काटुन र पानीको वोतल भेला गरेर बिक्रि गरी जिविका चलाउँदै आएका पौडेलको अनुहारसहित हात, खुट्टामा घाउ निस्किएर बढ्दै गई किरा नै परे । उपचार गर्न र पीडा सहन दुबै नसक्दा बिस खाएर मर्ने योजना बनाईसकेका पौडेललाई डा.सुनिल शर्माले साथ दिएपछि अहिले उनमा नयाँ उमंग पलाएको छ ।
चन्द्रबहादुर र प्रकाश मात्र हैन उनीहरु जस्ता दर्जनौ विपन्न र बेसहारा बिरामीलाई डा.शर्माले खोजी–खोजी निःशुल्क उपचार गर्दै आएका छन् । आपतमा परेका बिरामीको खोजिका लागि दैनिक रुपमा मोरङका गाउँ–गाउँ पुग्दै आएका डा.शर्माले दर्जनौ बिरामीलाई सम्पूर्ण खर्च बेहोरेर निःशुल्क उपचार गरिसकेका छन् ।