नेविसंघका विद्यार्थीहरुले महेन्द्र मोरङ क्याम्पसमा गरे तोडफोड

नेविसंघका विद्यार्थीहरुले महेन्द्र मोरङ क्याम्पसमा गरे तोडफोड

विराटनगर, माघ २१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । नेविसंघ, समाजवादी विद्यार्थी फोरम लगायतका विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पसको ब्यबस्थापन शैक्षिक शाखाको सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार तोडफोड गरेका हुन् ।

 

क्याम्पसले प्रदान गर्ने छात्रवृत्तिको अन्तरवार्तामा अनेरास्ववियुका अध्यक्ष नविन पहाडी बसेको फोटो बाहिरिएपछि उनीहरुले छात्रवृत्तिमा अनेरास्ववियुले दादागिरी गरेको भन्दै सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा प्रवेश गरी टेबल, कुर्सीहरु तोडफोड गरेका थिए । पछि केही विद्यार्थीहरुले तोडफोड गरेको भिडियो तुरुन्त डिलिट गर्न भन्दै भिडियो खिच्ने विद्यार्थीमाथि नै खनिएका थिए ।

क्याम्पसले प्रदान गर्ने छात्रावृत्ति गोप्य रुपमा निष्पक्ष तरिकाले हुनुपर्नेमा अनेरास्ववियुले आफ्ना केही विद्यार्थीलाई छात्रवृत्ति दिलाउन अन्तरवार्ता कक्षमा बसेर दादागिरी देखाएको समाजवादी विद्यार्थी फोरमका राकेश रोशन यादवले बताए । उनीहरुले गरेको विरोधका कारण सोमबार हुनुपर्ने अन्तवार्ता समेत राकिएको थियो । यस अघि अन्तवार्ता भएका विद्यार्थीहरुको पनि निष्पक्ष तरिकाले पुन :अन्तरवार्ता हुनुपर्ने उनीहरुको माग रहेको छ ।

यता अनेरास्ववियुका अध्यक्ष नविन पहाडीले भने नेविसंघले विना भर्ना अन्तर्वार्तामा आफू अनुकुलका विद्यार्थीलाई सहभागी गराएको सुचनाका आधारमा सत्यतथ्य बुझ्न जाँदा नेविसंघको कर्तुत बाहिरिने डरले नेविसंघले तोडफोड गरेको बताए ।

तोडफोड पछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्तरुपमा प्रेस विज्ञप्ति निकालेर दोषीलाई कारबाहीको माग गरेको छन । विज्ञप्तिमा भनिएको छ ‘ केही विद्यार्थीहरको प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरुको छात्रावृत्ति रोक्ने अभिप्रायले नियमित भईरहेको अन्तरवार्ता रोक्ने प्रयास गरी विद्यार्थी अराजक समूहले विद्यार्थीहरुलाई तितरवितर पार्ने गरी नकरात्मक हल्ला फैलाई ब्यबस्थापन संकाय तोडफोड प्रति ध्यानाकर्षण भएको छ ।’

अनेरास्ववियु जिल्ला सदस्य निर्मल भण्डारीले भने निष्पक्ष रुपले हुनुपर्ने छात्रवृत्तिको अन्तरवार्तामा विद्यार्थी संगठनको जिम्मेवार ब्यक्ति बस्नुले गलत सन्देश जाने र नेविसंघले पनि बार्ताबाट समाधान गर्नुपर्ने विषयमा तोडफोड गर्नु निन्दनिय भएको बताए ।

उनले भने – ‘त्रिभुवन विश्वविद्यालयले निष्पक्ष ढङ्गले दिईने छात्रवृत्तिको अन्तर्वार्ता गोप्य हलमा हुन्छ तर कुनैकुनै विद्यार्थी नेता उक्त अन्तर्वार्तामा बसेर आफु निकट विद्यार्थीको छात्रवृत्ति दिलाउन क्याम्पस प्रशासनसँग मिलेमतो गर्छ भने त्यो गलत हो। यस्तो गरेको पाईएमा अन्तर्वार्ता पुन गराईनुपर्छ । तर यसैलाई आधार बनाएर केही विद्यार्थी संगठनले हचुवाका भरमा क्याम्पसको भौतिक संरचना तोडफोड गरेकोमा घोर भत्सर्ना गर्दछु। सहमति र सत्य तथ्य नबुझी अनैतिक क्रियाकलाप गर्ने जोसुकै होस कारबाही गर्नुपर्छ र क्याम्पस प्रशासनले यसको सत्य तथ्य छानबिन गर्न माग गर्दछु। ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.