काठमाडौं, माघ २४
यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले रू. ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैं यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए ।
उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कुल पुरस्कार राशि रू. ६० लाख रहेको बताए । त्यसमा विजेताले रू. ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रू. ४ लाख तथा चौथो हुने टोलीले रू. २ लाख पाउनेछन् । आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगिता डीपीएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।
सबै टोलीमा १२ ‘अक्सन’बाट लिइएका खेलाडी (स्थानीयसहित), एक रणनीतिक खेलाडी र दुईजना विदेशी खेलाडी रहने छन् । प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स बिहीबार धनगढी पुग्ने कार्यक्रम रहेको छ । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रू. १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रू. ५ करोड खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको डीपीएलको बजेट रू. १ करोड ८२ लाख थियो भने कुल पुरस्कार रू. २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करणमा रू. ३ करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई रू. २५ लाखसहित कुल रू. ५० लाख पुरस्कार प्रदान गरिएको थियो ।