विराटनगर, माघ २८
विराटनगर–५ मा रहेको भोला गुटकाको भण्डार रहेको भोलेबाबा ट्रेडर्समा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । भोला गुटकाको भण्डार रहेको सो ट्रेडर्समा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले आइतबार छापा मारेको हो ।
राजस्व अनुसन्धानको इटहरीका कार्यालय प्रमुख बेदराज फुयाल नेतृत्वको टोलीले विराटनगर–५ त्रिमूर्ति मार्गस्थित ट्रेडर्सको गोदाम र कार्यालयमा छापा मारेको हो । सो क्रममा राजस्वको टोलीले ट्रेडर्सको बिलबिजक र अन्य कागजात नियन्त्रणमा लिएको छ ।
राजस्व छली गरेको कार्यालयमा प्राप्त सूचनाका आधारमा छापा मारिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख फुयालले जानकारी दिए । उनले थप छानबिनका लागि डिलरको कार्यालयमा रहेको कागजपत्रहरु पनि नियन्त्रणमा लिइएको बताए ।
ब्यापारी किसन बोहरा र विजय मालपानीले संयुक्त रुपमा सञ्चालन गरेको ट्रेडर्सले भोला गुटका साथै करेन्ट चाउचाउ र मसलाको डिलरका रुपमा कारोबार गर्दै आएको बताइएको छ ।