एजेन्सी, माघ २९
हरेक वर्ष हुने सर्वाधिक ठुलो फुटबल प्रतियोगिता , च्याम्पियन्स लिगको नक्-आउट चरण आजबाट सुरु हुदैछ । आज हुने पहिलो खेलमा इटालियन क्लब रोमा र पोर्चुगिज क्लब पोर्टोको भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट रोमाको घरेलु मैदानमा सुरु हुनेछ ।
रोमा र पोर्टो दुवैले समूह चरणमा उच्च प्रदर्शन गरेका थिए । आज राति पहिलो लेगको खेल रोमाको घरेलु मैदानमा हुँदा दोस्रो लेगको खेल भने पोर्टोको घरमा हुनेछ । यसअघि समूह चरणमा रोमा समूह ‘जी’बाट उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो भने पोर्टो समूह ‘डी’बाट समूह विजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।
आज हुने अर्को सर्वाधिक चर्चाको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पिएसजी भिड्दैछन् । यी दुवै टोली लिगको उपाधि दाबेदार टिम हुन् । पिएसजीमा ‘गोल मेसिन’का रूपमा चिनिएका नेइमार र काभानीको अनुपस्थितिमा आज पिएसजीमा फ्रेन्च स्टार केलियन एमबाप्पे र अर्जेन्टिनी विंगर डि मारियामाथि टोलीको भरोसा छ । आज गोल गरेर टोलीजाई जिताउन वा हारबाट बचाउने दबाब उनीहरूमाथि नै हुनेछ । युनाइटेडले घरेलु लिगमा लगातार जित दर्ता गर्दै अहिले अंक तालिकामा उल्लेख्य सुधार गरेको छ । तसर्थ, उसले च्याम्पियन्स लिगको पछिल्लो समयको ऊर्जा र लयलाई आज आफ्नो घरमा पिएसजीविरुद्ध उत्रिँदा प्रमुख हतियार बनाउनेछ ।
यता, युनाइटेड भने यो सिजन घरेलु लिगमा चौथो स्थानमा छ । उसले २६ खेल सकिँदा ५१ अंक बनाएर चौथो स्थानमा छ । उसले यो सिजन २६ खेल सकिँदा १५ खेल जितेर ६ खेल बराबरी गर्दा ५ खेल हारेको छ ।