एजेन्सी, माघ २९
हिरो गोल्डकप अन्तर्गत कलिंगा रंगशालामा भएको दोस्रो खेलमा नेपालले भारतलाई २–१ ले स्तब्ध बनायो । नेपालको जितमा २ वटै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । यससँगै भारतको सिनियर महिला टोलीविरुद्ध नेपालले इतिहासमै पहिलोपटक जित दर्ता गरेको छ । यसअघि नेपाली महिला फुटबल टिमले भारतलाई कहिल्यै हराउन सकेको थिएन ।
खेलको पाँचौं मिनेटमै नेपालका लागि साबित्राले निकै रोमाञ्चक गोल गरेकी थिइन् । उनले हिराकुमारी भुजेलको लामो पासमा गोल गरेकी थिइन् । उनको शक्तिशाली प्रहार भारतकी गोलरक्षक अदिती चौहानले छोए पनि बचाउन भने सकिनन् ।
पहिलो गोल गरेको दोस्रो मिनेटमै नेपालका लागि साबित्राले नै व्यक्तिगत दोस्रो गोल गरिन् । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ कुनाबाट दिएको क्रस पासमा भारतकी गोलरक्षकले खुट्टामुनिबाट फुत्काएपछि साबिताले खोली पोस्टमा सहजै गोल गरेकी थिइन् ।
साबित्राकै गोलको मदतमा नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा भारतीय टोली सुरुबाटै खेलमा फर्किन संघर्षरत रह्यो । त्यसक्रममा ८४औं मिनेटमा भारतका लागि रतनाबाला देवीले फ्रि किकमा सोझै गोल गरिन् । र, खेल २–१ मा झारिन् ।
नेपाल यसअघि पहिलो खेलमा म्यानमारसँग ३–० ले हारेको थियो । तर, भारतमाथि जितसँगै नेपाल अब अंक तालिकाको दोस्रो स्थानमा बसेको छ । भारत भने तेस्रो स्थानमा छ । जितपछि नेपालले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । उसले २ वटै खेल जितेर ६ अंक बनाएको म्यानमार सबैभन्दा सिरानमा छ ।
अघिल्लो चरण पुग्न अब अन्तिम खेलमा इरानलाई पराजित गर्नुपर्छ । र, म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरे नेपाल फाइनल पुग्नेछ । यदि भारतले म्यानमारलाई हराएको अवस्थामा भने नेपालको उपाधि यात्रा टुंगिनेछ ।