काठमाडौं : गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजें, चलेन। फेरि लगइन गर्न खोज्छु, चल्दैन। जति गर्दा पनि चल्दैन। मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ। अफिस जान हतार थियो। निस्किएँ। अफिसमा पनि फेसबुक चलेन।
त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढें। मेरो होस झन्डै गायब भयो। त्यसमा लेखिएको थियो– ‘दिस एकान्ट इज इन अ स्पेसल मेमोरिअलाइज्ड स्टेट।’ अर्थात् ‘यो एकाउन्ट विशेष रूपमा स्मरणीय छ।’
अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजें। त्यहाँ प्रस्टै लेखिएको थियो, ‘मेमोराइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो।’
अब भन्नुहोस्– मेरो अवस्था के भयो होला ?
म असिनपसिन भएँ। छेउमा साथी रामकृष्ण अधिकारी थिए। उनको फेसबुकबाट मेरो प्रोफाइल हेर्न भनें। मेरो प्रोफाइल फोटोमाथि नै लेखिएको रहेछ– ‘रिमेम्मरिङ नरेन्द्र साउद।’ त्यति मात्र होइन, थप लेखिएको थियो, ‘वि होप पिपुल हु लभ नरेन्द्र विल फाइन्ड कम्फर्ट इन भिजिटिङ हिज प्रोफाइल टु रिमेम्बर एन्ड सेलिब्रेट हिज लाइफ।’ अर्थात्, नरेन्द्रलाई माया गर्नेहरूले उहाँको प्रोफाइलबाट सम्झन र शोक व्यक्त गर्न सक्नुहुनेछ।’
यस क्षण कतिले मेरो प्रोफाइल हेरे होलान् ? धन्न कसैले ‘हार्दिक श्रद्धाञ्जली’ लेखिसकेका थिएनन्।,यो समाचार नेरन्द्र साउदले अन्नपूर्णमा लेखेका छन् ।