धनगढी, फागुन ६
विराटनगरलाई हराउँदै सिवाईसी अत्तरिया धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)को प्ले अफमा पुगेको छ ।डिपिएल अन्तर्गत आज भएको खेलमा विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरिया प्ले अफमा पुगेको हो ।
हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक भएपनि नेट रनरेटका आधारमा महेन्द्रनगर प्ले अफमा स्थान बनाएको ।
१ सय ४९ रनको लक्ष्य पक्ष्याउने क्रममा विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । विराटनगरका लागि आशिफ शेखले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । शेखले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पृथु बाँस्कोटाले २६ बलमा ४ चौका प्रहार गर्दै २७ रन बटुले ।
विराटनगरले पहिलो ओभरको अन्तिम बलमा असद उल्लाह खानलाई १३ रनमा गुमाएको थियो । भुवन कार्कीले बोल्ड गर्नुअघि खानले ५ बलमा दुई छक्का प्रहार गरे । छैटौं ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले अर्का ओपनर हरि शंकर शाहलाई ७ रनमा बोल्ड गर्दिए । लगतै एक बलपछि राजेश पुलामी मगर शून्यमा रन आउट हुन पुगे ।
चौथो विकेटका रुपमा आशिफ शेखलाई १२ ओभरको तेस्रो बलमा दिपेन्द्र राउतले एलपी डब्लू आउट गरेका थिए । कारण केसी १२,कुशल भुत्तेल ३ रनमा आउट हुँदा किशोर महतो ८ र साम्सद शेख ७ रनमा अविजित रहे । अत्तरियाका लागि भुवन कार्कीले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपेन्द्र राउतले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पार्दा दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । दुबै भारतीय खेलाडीले उत्कृष्ट अर्धशतक प्रहारगरेपछि अत्तरियाले जारी डिपिएलमा प्रतियोगिताकै सर्वाधिक लक्ष्य प्रस्तुत गर्न सकेको हो ।सन्नि पटेलले ३१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । त्यस्तै अर्का भारतीय खेलाडी जय किशन कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।
ओपनर जितेन्द्रसिंह ठकुरी र कोल्सावालाले ९.३ ओभरमा ५३ रनको साझेदारी गर्दै अत्तरियालाई राम्रो सुरुवात दिलाएका थिए । जारी डिपिएलमा ओपनरहरुले गरेको यो उच्च साझेदारी हो । यी दुईीचको साझेदारी शुसन भारीले ठकुरीलाई असद उल्लाह खानबाट उत्कृष्ट क्याच गराउँदै तोडेका थिए । ठकुरीले २७ बलमा १ चौका सहित १३ रन जोडे । ११ ओभरको दोस्रो बलमा सन्दीप जोरालाई ३ रनमा क्याच गराए ।
सांसद सेख ले जोरालाई करणबाट क्याच गराएका थिए । त्यस्तै १३ ओभरको पाँचौ बलमा दिपेन्द्रसिह ऐरी १० रनमा रन आउट हुन पुगे । विराटनगरका लागि शुसन भारी र साम्सद शेखले समान एक एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।