एजेन्सी, फागुन १०
स्पेनिस रियल मड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले आफूहरू अझै पनि ला लिगाको उपाधि होडमै रहेको बताएका छन् । आज वर्ष २०१८ का लागि उत्कृष्ट गोलरक्षकको अवार्ड थापेपछि स्पेनिस मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
ला लिगामा २४ खेल सकिँदा रियल अहिले अंक तालिकामा शीर्ष टोली बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ । लिगमा अब १४ खेल बाँकी छन् । यो सिजनको दोस्रो इएल क्लासिको हुनै बाँकी छ ।
यस्तो अवस्थामा कोर्टुवा भने रियल अझै पनि लिगको उपाधि दौडमा रहेको दाबी गर्छन् । ‘अंकका हिसाबले हामी अहिले निकै पछि छौं । यो दूरी सानो होइन,’ कोर्टुवाले भने, ‘तर, हामी अझै पनि लिगमा पुनरागमन गर्न सकिन्छ भन्नेमै छौं । किनभने, हामीसँग अझै १४ खेल बाँकी छन् ।’
कार्टुवाले पछिल्लोपटक लिगमा जिरोनासँग पराजित हुँदा सुनौलो ३ अंक गुम्दा उपाधि होडमा धक्का लागेको बताए । ‘जिरोनासँग अंक गुमाउँदा हामीलाई ठूलो धक्का लाग्यो, त्यो ३ अंक हाम्रा लागि सुनौलो अंक थियो,’ कोर्टुवाले थपे ।
बेल्जियमको राष्ट्रिय टोलीका गोलरक्षकसमेत रहेका कार्टुवाले लिग लिडर बार्सिलोना अहिले उत्कृष्ट लयमा नरहेकाले उसले कहीं न कहीं कमजोरी गर्ने र त्यसबेला आफूहरूले फाइदा लिन सक्ने बताए । ‘बार्सिलोनासँग अहिले ९ अंकको अग्रता छ । तर, हामी सही समयको प्रतीक्षामा छौं,’ उनले भने, ‘हामी अबका बाँकी सबै खेल जित्न चाहन्छौं ।’










