शिवरात्री सोमबार भएकाले भक्तजन बढ्ने अनुमान, पशुपति दर्शनको यस्तो छ तयारी

शिवरात्री सोमबार भएकाले भक्तजन बढ्ने अनुमान, पशुपति दर्शनको यस्तो छ तयारी

काठमाडौँ,फागुन १३

हिन्दु धर्मावलम्बीहरुले सोमबार भगवान शिवको पूजा आरधना गर्ने गर्छन् । यसपालीको महाशिवरात्री फागुन २० गते ठ्याक्कै सोमबार नै परेको छ ।

यसरी सोमबारकै दिन परेको महाशिवरात्री सभ्य र भव्य बनाउन पशुपति विकास कोष उत्साहपूर्वक लागि परेको छ । बार र तिथिको योग मिल्नु आफैँमा विशेष योग भएकाले कोष उत्साहित भएको हो । विषेश योगकै कारण तीर्थयात्रीहरुको संख्यामा उल्लेख्य वृद्धी हुने कोषको दाबी रहेको छ ।

संस्कृति महाशाखा प्रमुख तथा शिवरात्री प्रचार प्रसार उप समितिका सचिव प्रेमहरी ढुङ्गानाका भन्छन्–‘हिन्दु धर्म अनुसार भगवान शिवको जन्मोत्सवको रुपमा मनाउने यस पर्वमा तीर्थयात्रीहरुको उत्साहजनक सहभागिता रहने गर्छ, यसपालिको महाशिवरात्री सोमबारकै दिन परेकालेपनि दर्शनार्थीहरुको संख्या वृद्धी हुने कुरामा दुईमत छैन ।’

महाशिवरात्रीका दिन पशुपतिमा यस्तो छ व्यवस्थाः
मन्दिर खुल्ने समयः महाशिवरात्रीको दिनमा बिहान ३ बजेदेखी नै मन्दिर खुल्ला रहने छ । सोही समयबाट नै भक्तजनहरुले लगाउने जुत्ता चप्पलको व्यवस्थापनदेखि सुरक्षाका विषयमा पशुपति विकास कोषले आफ्नो भूमिका निभाउने जनाएको छ ।

मन्दिर प्रवेश गर्न ३ लाईन: महाशिवरात्रीको दिन मन्दिर प्रवेशका लागि बाहिर ३ वटा लाईन रहने छन् । बाहिरबाट मन्दिर प्रवेश गर्दा भक्तजनहरुले मित्रपार्क, पिगंलास्थान र जयवागेश्वरीको रुट प्रयोग गर्न सक्नेछन् । भित्र गएपछि जुत्ता, चप्पल राखे पश्चात उक्त ३ वटा लाईन ६ वटामा विभाजित हुनेछन् । भक्तजनहरुलाई पासको व्यवस्था गरिएको छैन । स्वयम् सेवक तथा भोजनका लागि भने परिचय पत्रको व्यवस्था गरिने छ ।

दर्शन छिट्टै गराउन कोषले पहल गर्नेः दर्शनार्थीहरुले भगवान शिवको दर्शन गर्ने सौभाग्यबाट वञ्चित हुन नपरोस् भन्नेमा कोषको विषेश पहल गरेको जनाएको छ । सधैजसो लाईन लामो हुने भएकाले कतिपय दर्शनार्थी मन्दिर बाहिरबाटै फर्किन्छन् । सोही कुरालाई ध्यानमा राखेर झुलुक्क दर्शन गरेपछि दर्शनार्थीलाई तान्ने जनशक्तीको व्यवस्था कोषले नै गरेको छ । यसरी तान्नुको संकेत भनेको सक्दो छिटो दर्शन गरेर निस्किदा राम्रो हुन्छ भन्नेमा केन्द्रित रहेको छ ।

स्वास्थ्य सम्बन्धी व्यवस्थाहरुः काठमाडौँ उपत्यकामा रहेका सरकारी र निजी दुवै अस्पतालहरुले महाशिवरात्रीको समयमा मन्दिर परिशर भित्र उपचार सेवा प्रदान गर्ने छन् । सेवाका लागि शैया सहितका एम्बुलेन्सहरु समेत उपलब्ध हुने छन् । प्राथमिक उपचारदेखी अस्पताल लग्नु पर्ने सम्मका दुर्घटनाका लागि स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।

सुरक्षा व्यवस्थामा कडाईः ४ हजारभन्दा बढीको संख्यामा जनपद तथा ३ हजारको संख्यामा शसस्त्र प्रहरीको व्यवस्था गरिने भएको छ । साथै, बिना बर्दीका प्रहरीहरु समेत मन्दिर परिसरमा उपस्थित हुने छन् । नचाहिंदा क्रियाकलाप भएमा, त्यस्ता हर्कत गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने छन् ।

यात्रुवाहक सार्वजनिक सवारी साधनलाई निषेध नगरिनेः तीर्थ यात्रीहरुको सहजताको लागि महाशिवरात्रीमा रिङ्ग रोडमा चल्ने यात्रुवाहक बसमा कुनै किसिमका रोक लगाईने छैन । गत वर्ष परीक्षण गरिएको भएपनि यसपालि सोही कुराको पूर्ण रुपमा कार्यान्वयन गरिने कोषले जनाएको छ । तर, गएको बर्षभन्दा अघिल्ला बर्षमा भने महाशिवरात्रीको समयमा पशुपति क्षेत्र हुँदै चल्ने यात्रुबाहक बसलाई प्रवेश निषेध गर्ने चलन रहँदै आएको पाईन्छ । त्यस्तै, तीर्थयात्रु बोक्ने गाडीलाई मन्दिर परिसरमा आउन छुट भएपनि पार्किङ् गरेर जाम भने गर्न पाईदैन ।

पशुपति परिसरमा नै आवास भवन निर्माण भई सकेकाले यसपाली विदेशी तीर्थयात्रीहरुले अटेसम्म त्रिपाल भित्र रात काट्नु नपर्ने कोषले जनाएको छ । लागू औषध सेवन नगर्न कोषको आग्रहः शिवरात्रीको अवसरमा लागू औषधजन्य वस्तुको सेवन गर्न तथा ओसार पसारमा रोक लगाईएको छ । भगवानलाई सम्झेर पूजा आरधना गर्नु राम्रो भएपनि गाजाजन्य वस्तु सेवन नगर्न कोषको आग्रह रहेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.