चितवन, फागुन १४
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहबीच विवाद बढेको छ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरकी मेयरले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छिन् ।
ठकुरीले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यपालिका बैठकमा ल्याइने एजेण्डा आफूलाई कुनै जानकारी नदिई एकलौटी तरिकाले ल्याउने गरेको आरोप लगाएकी हुन् । ‘एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ । मलाई धम्की आउँदा समेत उहाँले बेवास्ता गर्नुभयो । अहिले त रेणुलाई जिताएर गल्ती गरियो जस्तो महशुस भएको छ’, उनले भनिन् ।
उनलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई पक्राउ गरी सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा छाड्ने निर्णय गरेको थियो । ती युवकले माफी समेत मागिसकेका छन् ।
यस्तै उनले महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको लगायतका आरोप लगाइन् ।
‘महानगरलाई राजनैतिक थलो र केन्द्र बनाउन खोजिएको छ । मुस्कानसहितको सेवा हुनुपर्नेमा त्यो पनि भएको छैन’, उनले भनिन् । स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो छ ।