विराटनगर, फागुन २४
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरिएको छ । उद्योग संगठन मोरङको महिला उद्यम समितिको आयोजनामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने समाजसेवी पुनम गिरीलाई सम्मान गरिएको छ ।
यस्तै उद्योगका क्षेत्रमा योगदान पु¥याउने सुनिता छाराहाङ र शिक्षा क्षेत्रमा योगदान पु¥याउने लिलिपुट मन्टेश्वरीका संचालक अमिना तिम्सिनालाई सम्मान गरिएको छ । उनीहरुलाई महिला उद्यम समितिका संयोजन सन्तोष जैन, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुएश प्याकुरेल लगायतले दोसल्ला, अबिर र सम्मानपत्रले सम्मान गरे ।

कार्यक्रममा बोल्दै सम्मानित महिलाहरुले आत्मनिर्भर र आर्थिक रुपमा सफल हुन सके मात्र हिंसा आफै कम भएर जाने बताएका थिए । यस्तै महिला संघ मोरङले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला र महासमित सदस्य दामोदर कोइरालाले अन्तराष्ट्रिय महिला दिवस मनाईरहदा महिलाहरुले आफ्नो भूमिका परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै महिला संघ मोरङकी सभापति शान्ता पौडेलले महिलाहरुले अधिकार पाएपनि कार्यान्वयनमा अझै पनि समस्या देखिएकाले सम्पूर्ण महिलाहरु एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।