विराटनगर,फागुन २६
फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका जुटेको छ । यसका लागि विराटनगर महानगरले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानीयतका जनप्रतिनिधिहरु संगको छलफललाई तिव्रता दिएको छ ।
चीनको कोच भेन्चर होल्डिङ प्रा.लिले विराटनगर सहितआसपासका क्षेत्रमा फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन, उपकरण र पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएसंगै महानगरले यसको पहलकदमी थालेको हो । केही समय अगाडि विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले चीनको आनहुइ प्रदेशमा फोहर व्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेका थिए ।
सोही क्रममा चीनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगर सहितआसपासका क्षेत्रलाई फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन सहित आबश्यक उपकरण र सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । यस संगै विराटनगर महानगरपालिकाले तदारुकता देखाएको छ । यसैबीच स्थानीय तहहरुको फोहरमैला व्यवस्थापनका लागि साझेदारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत विराटनगर महानगरले आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरका प्रमुख पराजुलीले सम्भव भएसम्मका स्थानीयतहहरुको समन्वयमा फोहरमैला व्यवस्थापन गरौ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले फोहरलाई ,मोहरमा परिणत गर्ने कुरामा सवै स्थानिय तहको समन्वय आबश्यक भएको बताए । कुनै पायक स्थानमा जुट्नेसमेत उनले बताएका छन् ।
छलफलमा झापा, मोरङ र सुनसरीका १४ स्थानीय तहका जनप्रतिनिधिहरुले फोहर व्यवस्थापनको समस्या समाधान गर्न सम्पूर्ण जनप्रतिनिधिहरु एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा इन्जिनियर घनश्याम काफ्लेले चीनले गरेको फोहर व्यवस्थापन केन्द्र र नेपालमा बनाइने डिजानइनका विषयमा जानकारी गराएका थिए । आधुनिक फोहर व्यवस्थापन केन्द्रवाट फोहर नगनाउने र स्थानीयबासीलाई कुनै असर नपर्ने जानकारी गराएका थिए ।