विराटनगर,चैत ५
प्रदेश सरकार गठन भएको वर्ष दिन वितिसक्दापनि एक नम्बर प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । संसद सचिवालयको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठन भएको वर्षदिन बितेपनि प्रदेश सरकारले कुनै उपलब्धीमुलक काम गर्न नसकेको आरोप लगाएको हो ।
एक नम्बर प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रमपनि घोषणा मै सिमिति भएको बताए । प्रदेश एकमा सरकार नै कमजोर भएका कारण प्रतिपक्षीपनि कमजोर देखिएको उनको भनाइ छ । संघीय सरकारसंग अधिकार माग गर्ने विषयमा आफुहरु सहयोगि भएर लाग्ने प्रतिबद्धता जनाएपनि प्रदेश सरकारले आफ्ना अधिकार संघसंग माग्न नसकेको भन्दै उनले प्रदेश सरकारको भूमिका प्रति प्रश्न उठाए ।
सभामुख र उपसभामुख एउटै दलको हँुदापनि प्रदेश सभा र सरकार स्वेच्छाचारी ढंगबाट चलेको दलका नेता राजिव कोइरालाले आरोप लगाए। सरकारका मन्त्री र सभामुख, उपसभामुख एउटै दलको हुदा संसद बैठकमा मन्त्री ढिलो आउने गरेको उनको आरोप छ । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट थुपारेको र निर्माणको ठेक्कापट्टामा समेत पार्टी कार्यकर्ता र आफन्त पोस्ने काम भएको उनको आरोप छ ।
साथै मुख्यमन्त्रीका नामबाट सुरु परियोजना लथालिंग अवस्थामा पुगेको र मुख्यमन्त्री स्वयम्ले नै बजेट एकीतृत गरेको, प्रदेश सरकारका कतिपय मन्त्रीहरुले नियुक्ति पत्र बिना आफ्ना आफन्तलाई मन्त्रालयमा खटाएको कांग्रेसको आरोप छ । एक वर्षसम्म मन्त्री मण्डल विस्तार गर्न नसकेको र संसदीय समितिलाई समेत नेतृत्वविहिन बनाउनु प्रदेश सरकारको कमजोरी भएको कांग्रेसको टिप्पणी छ ।