विराटनगरस्थित शिशु सेवा समितिले एक पत्रकारसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जनालाई पुरस्कृत गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा समितिले पत्रकार विनोद सुवेदी, बालकलाकार अर्पिता दाहाललाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित पुरस्कृत गरेको छ ।
त्यस्तै मोरङको टंकीसिनवारीस्थित नरग्राम उच्च माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी पवन श्रेष्ठ र रचना भट्टराईलाई जनही ५ हजार राशिसहित समितिले पुरस्कृत गरेको छ । २०४० सालमा स्थापित शिशु सेवा समितिको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले माला लगाइदिएर सम्मानपत्र र नगद प्रदान गरे ।
त्यस्तै समारोहमा विराटनगर आँखा अस्पतालका निर्देशक डा. सञ्जय सिंहलाई विशेष सम्मान प्रदान गरिएको थियो । सिंहलाई पनि प्रदेश प्रमुख तुम्बाहाङ र समितिकी अध्यक्ष वसुश्री पाण्डेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिन । विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको समितिका सचिव प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका तुम्बाहाङले भौतिक विकाससँगसँगै कला, साहित्य र संस्कृतिले मात्रै मुलुक समृद्ध हुने बताए । उनले समाज परिवर्तनमा भाषा, साहित्य, कला र पत्रकारिताको योगदान महत्वूर्ण हुने उल्लेख गरे ।