विराटनगर : निर्माणाधिन अवस्थामा रहेको विराटनगरमा पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दा असफल हुन्छ कि भन्ने चिन्ता थियो अखिल नेपाल फुटबल संघलाई । महानगरका अधिकांश सडक खनिएका थिए । मैदान पनि तयार थिएन । तर, दुई महिना मेहनत गर्दा मैदान र मैदानसम्म पुग्ने सडक तयार भयो । असफल हुने चिन्तालाई चिर्दै पहिलोपटक राजधानी बाहिर आयोजना गरिएको प्रतियोगिताले सुखद सन्देश दिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता किरण राई केही कमजोरी हुँदाहुँदै पनि पहिलोपटक मोफसलमा आयोजना गरिएको प्रतियोगिता सफल भएको बताउँछन् । ‘महिला साफबाट विराटनगरले पाएको उपलब्धी अमुल्य छ,’ उनी भन्छन् ‘प्रतियोगिताले विराटनगरको जसरी प्रचार गरेको छ त्यसलाई मुल्यमा तुलना गर्न सकिन्न ।’
संघीय संरचना अनुसार अधिकार विकेद्रीकरणको अभ्यास गरिरहेको नेपालका लागि साफले काठमाडौँ केन्द्रीत सोचलाई पनि अन्त्य गरेको छ । साफमा प्रदेश १ को अस्थायी राजधानी विराटनगरको चर्चा सँगै सम्भावनाको ढोका पनि खुला गरेको एन्फा प्रवक्ता राईको भनाइ छ ।
समाजले अझै महिलालाई खेल क्षेत्रमा लाग्न सहयोग गरेको छैन । तर , विराटनगरले देशभरमा महिलालाई खेल क्षेत्रमा लाग्न माहोल सिर्जना गरेको राईको दाबी छ ।। ‘महिलाले खेल्न हुँदैन भन्ने मानसिकता तोडिएको छ,’ उनले भने, ‘महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउनपर्ने रहेछ भन्ने सन्देश दिन सकियो ।’,यो समाचार आजको उद्घोष दैनिकमा हरि अधिकारीले लेखेका छन् ।