एजेन्सी,चैत ११
ईन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।
आइतबार राती वानखडे क्रिकेट स्टेडियमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
२ सय १४ रनको लक्ष्य पक्ष्याएको मुम्बईले १९.२ ओभरमा अल आउट हुुँदै १ सय ७६ रनमा समेटियो । मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । मुम्बईका अन्य क्रुनाण पान्ड्या १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३२, कप्तान रोहित शर्मा १४, क्विन्टन डी कक २७, किरण पोलार्ड २१ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
दिल्लीका लागि कागिसो रबाडा र ईशान्त शर्माले समान दुई विकेट लिए । त्यस्तै टे«न्ट बोल्ट,राहुल तवतिया,अक्षर पटेल र किमो पलले समान एक एक विकेट हात पारे ।
त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनायो ।मात्र १८ बलमा अर्धशतक पुरा गरेका पन्तले २७ बलमा समान ७ छक्का र चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे । पन्तले विश्फोटक ब्याटिङ गरेपछि दिल्लीले विशाल योगफल तयार पार्न सफल भयो ।
कोलिन इनग्रामले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४७,ओपनर शिखर धवनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४३,पृथ्वी शा ७, कप्तान श्रेयर ऐरले १६,किमो पल ३ र अक्षर पटेल ४ रनमा आउट भए । राहुल टेवाटिया ९ रनमा अविजित रहे ।
मुम्बईका लागि मिचेल म्याकक्लेनाघनले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या,बेन कटिङ्ग र जसप्रित बुमराहको नाममा समान एक विकेट रह्यो ।दिल्लीको पहिलो खेलमा नेपालका सन्दीप लामिछाने भने प्लेइङ ११ मा परेनन् । दिल्लीले दोस्रो खेल मंगलबार चेन्नईसुपरसँग खेल्ने छ भने मुम्बईले २८ मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग प्रतिसप्रर्धा गर्ने छ ।