विराटनगर, चैत ११
विराटनगर महानगरपालिकामा सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध बनाएर जनताको मनमा सधैं रहने गरी छाप छोडेर जाने प्रतिबद्धता जनाएका छन् । महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कमी नहुने उनको दाबी छ ।
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचको खिचातानीले विराटनगरको विकास निमाणृमा असर परिरहेको विश्लेषण भईरहेको समयमा आएका अधिकारीले जनताको मनमा बस्नेगरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । अधिकारीको यो अभिव्यक्तिले नगरको विकासले फड्को मार्ने आशा गरिएको छ ।
महानगरमा सोमबार पत्रकारहरूसँग भेटघाट गर्दै उनले जनताको अड्डा भएकोले आफूले जनप्रतिनिधिसँग समन्वय गरेर मात्र काम गर्ने बताए । आफू विराटनगर—४ कै स्थायीबासी भएकोले समृद्ध विराटनगर बनाउने आफ्नो योजना रहेको उनले बताए । कार्यालयमा देखिएको बेथिती सुधार गर्दै लाने र पहिलो चरणमा प्रशासनिक सुधार गर्ने उनले जानकारी दिएका छन् । त्यस्तै वडा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउँदै लाने र जनताको घरदैलोमै सेवा दिने गरी स्तरोन्नति गर्ने पनि स्पष्ट पारे ।