विराटनगर, चैत १३
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संवैधानिक परिषदले सोमवार गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन । विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस उपसभापति गच्छदारले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा बसेको संवैधानिक परिषदको बैठक असंवैधानिक भएकोले निर्णय पुनर्विचार हुनुपर्ने बताएका हुन ।
सोमवारको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगको अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो । उनले प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद् भनेको प्रमुख कार्यकारी निकाय रहेको र यसमा प्रमुख प्रतिपक्षी दलको नेतालाई पदेन सदस्य राख्नुको अर्थ राज्य सहमतिको प्रक्रियाबाट संचालन गर्ने मान्यता रहेको धारणा व्यक्त गरे ।
उपसभापति गच्छदारले विप्लव समूहलाई संघिय लोकतान्त्रिक गणतन्त्र मानेर शान्ति वार्तामा आउन आग्रह गर्दै सरकारले पनि विप्लव समूहलाई सुरक्षा संयन्त्र प्रयोग गरेर नियन्त्रण गर्नुको सट्टा वार्ता र संवादबाट समस्याको निकास निकाल्न आग्रह गरे ।