विराटनगर, चैत १३
गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको छ ।सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो ।
राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोजे पनि फेला परेको थिएन । बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदीबाट निकालिएको थियो ।
नदीमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका केही युवाले करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदीबाट शव बाहिर निकालेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी र रमिलाका आफन्त समेतको टोली सप्तकोसी पुगेका थिए ।
आफन्तले पनि शव रमिलाकै भएको भनी स्वीकार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिए । नेकपाका नेता समेत रहेका योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेको प्रहरीलाई बयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर सप्तकोसीमा शव फालेको बताएका थिए । यद्यपी सो शव रमिलाकै भएको औपचारिक रुपमा पुष्ठी भइ सकेको छैन ।