विराटनगर, चैत १७
रिपोर्टस क्लबले विराटनगरका उद्योगी महेश जाजुलाई सम्मान गरेकोे छ । ब्लवको २१ औ बार्षिकोत्सवको अवसरमा काठमाडौको राष्ट्रियसभागृहमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जाजुलाई सम्मानित गरेका हुन् ।
प्रधानमन्त्री ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा प्रदान गरेका छन् । यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित प्रमाणपत्र छ ।
त्यस्तै ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अङ्ग्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही रु ५०/५० हजार छ । ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’का सहायक वरिष्ठ उपसम्पादक राजेश मिश्रलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।
यसैगरी ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।
त्यस्तै ‘शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डिल्ली बसेल, ‘रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार सन्तोष न्यौपाने, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५’ ‘राजधानी’ दैनिकका समाचार सम्पादक ध्रुव लम्साल र ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियो ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा सञ्चार उद्यमी रामेश्वर थापा, भरतपुर उपमहानगरपालिका प्रमुख रेनु दाहाल, गैरआवासीय नेपाली महासङ्घका अध्यक्ष भवन भट्टलगायतलाई सम्मानसमेत गरेका थिए ।