बारा,चैत २५
गत हप्ता बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी मृत्यु भएकाहरुको सम्झनामा प्रदेश– २ सरकारले शोक मनाउने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथि मानेर यही चैत ३० शोक मनाउने निर्णय गरेको हो ।
चैत ३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौनधारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।यसअघि प्रदेश सरकारले केन्द्र सरकारलाई उक्त घटनामा राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । तर सो आग्रहलाई केन्द्र सरकारले नमानेपछि प्रदेश सरकार आफैं शोक मनाउने निर्णयमा पुगेको बताइएको छ ।
त्यस्तै बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत तत्काल प्रतिपरिवार रु २५ हजार दिने निर्णय समेत गरेको छ ।