एजेन्सी, चैत ३०
यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ छनोट खेल्न मलेसिया पुगेको नेपालले ठुलो झड्का व्यहोरेको छ । आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा शनिबार यूएईसँग डीएल मेथडका आधारमा एक रनले हारेपछि नेपाललाई झड्का लागेको हो ।
मलेसियमा पानीले बिथोलेको खेलमा नेपालले हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको यूएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो ।लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।
नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । रित गौतमले ४४ रन जोडे ।तर, वर्षाका कारण खेल डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो ।
प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।
नेपालको यस पराजयले भने छनोटबाट बञ्चित हुने डर बढेको छ । यूएईले भने लगातार दोस्रो जित दर्ता गरेको छ । सबै देशले २–२ खेल खेल्दा कुवेत र ओमानको समान ४–४ अंक छ भने नेपालको र ओमानको २–२ अंक छ । मलेसिया र सिंगापुर भने अंकबिहीन छन् ।










