एजेन्सी, बैशाख २
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।आईतबार राती हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न प्रतियोगिताको ३० औं खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।
१ सय ५६ रनको लक्ष्य पक्ष्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटियो । कुनै समय १५ ओभरमा १०० बनाउँदै २ विकेट गुमाएको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोरेको हो ।
हैदरावादका लागि ओपनर डेविड वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ बनाए । वार्नर १७ ओभरको दोस्रो बलमा कागीसो रबडाको बलमा श्रेयस ऐयरबाट क्याच आउट भएपछि दिल्लीले हैदरावादलाई दबाबमा राख्न सक्यो।
हैदरावादका लागि ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नरले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । किमो पलले कागीसो रबडाबाट क्याच गराउनु अघि बेयरस्ट्रोले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए । पललेनै रवडाबाट १२ ओभरको चौथो बलमा कप्तान केन विलियम्सनलाई ३ रनमा आउट गरे । १६ औं ओभरको दोस्रो बलमा रिकी भुईलाई पलनै ७ रनमा क्याच आउट गराएपछि हैदरावादको निरन्तर विकेट गुम्न पुग्यो । दिल्लीको जितमा कागीसो रबाडाले ३।५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै क्रिस मोरिस र किमो पलको नाममा समान ३ विकेट रह्यो ।
त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भयो । दिल्लीका लागि कप्तान ऐयरले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० र विकेटकीपर ऋषभ पन्तले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर पृथ्वी शा ४ र शिखर धवन ७ रनमा आउट भए ।
दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले ओपनर शालाई क्याच गराए । चौथो ओभरको दोस्रो बलमा अहमदले भुवनेश्वर कुमारबाट क्याच गराउँदै धवनलाई पेभिलिएन फर्काउदै दिल्लीलाई दवावमा राखे । ८ औं ओभरको अन्तिम बलमा अभिषेक शर्माले मुनरोलाई विकेटकीपर जोनी बेयस्ट्रोबाट क्याच गराएपछि दिल्ली थप दवावमा परेको थियो ।
१६ ओभरको पाँचौ बलमा ऐयर र १७ ओभरको दोस्रो बलमा पन्त क्याच आउट भएपछि दिल्ली सस्तैमा समेटिएको थियो । तल्लोक्रमका क्रिस मोरिस ४ रनमा आउट भएका थिए भने अक्षर पटेल १४ रनमा अविजित रहे । हैदरावादका लागि खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर ३, भुवनेश्कर कुमारले २,राशिद खान र अभिषेक शर्माले समान १ विकेट हात पारे ।
दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भने लगातार दोस्रो खेलमा विश्राम दिएको छ ।यो जितसँगै दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।