विराटनगर, वैशाख २
विराटनगरको मुख्य बजारमा भईरहेको अब्यबस्थित विकास निर्माणका कारण सामान्य वर्षामै बजार क्षेत्रका पसलहरु डुब्न थालेका छन् ।शनिबार राती परेको वर्षाका कारण विराटनगरको जलजला चोकमा रहेको लक्ष्य इम्पोरियममा नाला भरिएर पानी पसेको छ ।
मुख्य बजारमा भईरहेको अब्यबस्थित सडक तथा नालाको निर्माणका कारण नाला भरिएर पसलभित्रै पानी छिरेको लक्ष्य इम्पोरियमका सन्चालक अमित गुप्ताले बताए ।रातीको समयमा परेको पानीका कारण बजारका नाला भरिएको र आईतबार पुग्दा पसल भित्र पानीले भरिएको भेटिएको उनले बताए । पानीले नयाँ कपडा लगायत फर्निचर गरी करिव ६ लाख बराबरको क्षति भएको संचालक गुप्ताले बताए ।

गुप्ताले भने ‘कम्मरसम्म पानी थियो । पसल भित्र रहेको सबै नयाँ कपडा, फर्निचर लगायत सवै पानीले भिजेर क्षति भयो ।’ यो समस्या एउटा उदाहरण मात्र हो । मुख्य बजारमा भईरहेको अब्यबस्थित सडक तथा नालाको निर्माणका कारण अधिकांश व्यापार व्यावसाय यस्तै पीडाबाट गुज्रिएका छन् ।
अब्यबस्थित रुपमा जथाभावी सडक र नाला भत्काईएपछि ब्यापार ब्याबसाय चौपट्ट बनेका छन् भने सावारी साधन र पैदल यात्रुले आवतजावतमा पनि कठिनाई खेप्नुपरेको छ ।
