पाँचथर, बैशाख ३
दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङले तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा मोरङ ३–१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो ।
फिदिम माविको मैदानमा राष्ट्रिय टोलीका समेत सदस्य रहेका मिडफिल्डर हेमन्त थापामगरले आठौं मिनेटमा मोरङलाई अग्रता दिलाएका थिए । तर दार्जीलिङका कारण राईले ३७ औं मिनेटमा खेल बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा अर्मान्डको गोलमा डाँगीहाटले अग्रता लियो । त्यसको ५ मिनेटमा नै सन्जोग राईले गोल गर्दै मोरङको जित सुनिश्चित गरे ।
पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलका राम्रा अवसर गुमाएका थिए । वर्षाल हिलो बनाएको मैदानमा खेलाडीहरुले खुलेर खेल्न सकेका थिएनन् । दार्जिलिङका करण राई १८ औं मिनेटमा वान भर्सज वानमा गोल गर्ने चुकेका थिए । ८६ औं मिनेटमा मोरङका संजोग राईले किपर विट भएको अवस्थामा खाली पोलमा गोल गर्न सकेनन् ।फाइनल खेलमा मोरङका हेमन्त थापा म्यान अफ द म्याच हुदै दश हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियागितामा ६ गोल गरेका मोरङका विदेशी खेलाडी अर्मान्ड भिदुम उच्च गोल्कर्ता हुदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका दिनेश थापा मगर, उत्कृष्ट डिफेन्डर दार्जिलिङका दिवस लिम्बु ,उत्कृष्ट फरवार्ड मोरङका संजोग राई ,उत्कृष्ट मिडफिल्डर दार्जिलिङका वाङदेल तामाङ बने । उत्कृष्ट सबैले समान दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदयमानी खेलाडी पाँचथर क्लबका हेमन्त दर्नाल चुनिए । दर्नालले दश हजार रुपैयाँ प्राप्त गरे । डाँगीहाट फुटबल क्लबका विक्रम लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भए । लिम्बुले स्कुटर प्राप्त गरे ।