एजेन्सी, बैशाख ३
नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो । ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले नेपालको पारी सम्हालेका थिए । उनले ७५ रन बनाए । ८१ बलको सामना गरेका रोहितले पाँच चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, भीम सार्कीले ३९ रन बनाउँदा अभिषेक बस्नेतले १५ रन बनाए । नेपालको सुरुवात भने राम्रो हुन सकेन । १२ रन हुँदा ओपनर पवन सर्राफलाई व्यक्तिगत ५ रन गुमाएको नेपालले ३३ रन हुँदा दोस्रो विकेटको रुपमा रित गौतमलाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।
लगतै अभिषेक र सन्दीप जोरा आउट भएपछि नेपाल दबाबमा आएको थियो । नेपालको एकपछि अर्को विकेट पतन भइरहँदा क्रिसमा कप्तान रोहित भने डटिरहे । रोहितले भीम सार्कीसँग ९३ रनको साझेदारी गरेपछि नेपालको अवस्था केही सुध्रिएको थियो ।
ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रविन्द्र र जिल तन्नाले समान २–२ विकेट लिए । अर्को खेलमा भने यूएईले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १३५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले २६.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालले आफ्नो अन्तिम खेल विहिवार कुवेतसँग खेल्ने छ । बिहिवारनै यूएई र ओमान भिड्ने छन् । ओमान विजयी भएको खण्डमा नेट रन रेटले यूएई लाईपछि पार्दै नेपाल विश्वकपको लागि छनोट हुन सक्ने अंकगणीतिय संभावना रहेको छ ।










