विराटनगर, बैशाख ४
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा कारको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।गत बुधवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलमा छाडेर झापा फर्कदै गरेको सो बा ३ च ७९६२ नम्बरको कारको ठक्करबाट घाईते भएका इटहरी– ९ का प्रकाश चौधरीको मंगलबार मृत्यु भएसँगै मृतक संख्या २ पुगेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिने सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट इटहरी उपमहानगरपालिका– ९ का २२ वर्षिय हेम चौधरीकोे घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक प्रकाश चौधरीे गम्भिर घाइते भएका थिए ।
घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुधवार सुन्दरहरैँचामा दिनभरी आल्मुनियमको काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्कीएको सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीले ठक्कर दिएको थियो ।