विराटनगर, बैशाख ४
विराटनगर महानगरपालिका – १६ दरैयाको बाँस झ्याङमा फेला परेको पेस्तोल राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले मंगलबार विराटनगर – १६ का करिब ३५ वर्षीय मणी सिंहलाई पक्राउ गरेको हो ।
सिंहले बाँस झ्याङमा पेस्तोल रहेको सूचना सबैभन्दा पहिला जानकारी प्रहरीलाई दिएका थिए । सुचनाका आधारमा खोज्दै जाँदा नयाँ वर्षको दिन वैशाख १ गते प्रहरीले ‘मेडइन यूएसए’ लेखेको पेस्तोल र दुई थान गोली फेला पारेको थियो ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा सिंहले नै बाँस झ्याङमा पेस्तोल राखेको प्रमाण जुटेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
भारतबाट पेस्तोल उनले कुनै अपराधिक कर्म गर्ने उद्देश्यले पेस्तोल ल्याएको मोरङ प्रहरीले दावी गरेको छ । ‘सिंहको ससुरालीमा २ वर्षदेखि जग्गाको विवाद थियो,’ अनुसन्धानसमा संलग्न एक अधिकारीले भने, ‘सिंहले पेस्तोल देखाएर डर र धम्की दिन हतियार ल्याएको देखिन्छ ।’
पक्राउ परेका सिंहलाई मंगलबार जिल्ला अदालत मोरङमा हातहतियार खरखजना अन्र्तगत मुद्दामा म्यात थप गरि अनुसन्धान भइरहेको डिएपी श्रेष्ठले बताए ।