विराटनगर, बैशाख ४
विराटनगर– ६ सरौचियामा सामुदायिक भवन(मुसाफिरखाना) बन्ने भएको छ । मुस्लिम कम्युनिटी सेन्टरद्धारा प्रस्तावित सो भवनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बुधबार शिलान्यास गरेका छन् ।
४ कठ्ठा जग्गामा बन्न लागेको सो भवन निर्माण सम्पन्न गर्न करिब दश करोडको लागत लाग्ने अनुमान गरिएको छ । ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लिले गरेको भवनको डिजाईन अनुसार ६०० स्क्वायर मिटरको ५ तल्ले भवनमा सामाजिक काम विवाह,भोजभतेरका लागि २ वटा हल,बस्नको लागि ३० वटा कोठाहरु तथा पार्किङस्थल रहनेछ भने मुस्लिम समुदायसँग जोडिएका विशेष आकृतिहरु बनाईनेछ ।

भवन निर्माणको लागि सामान्य प्रशासन मन्त्री पण्डितले १ करोड रुपैँया हस्तान्तरण गरिसकेका छन् । शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सबैको सहयोगले भवन निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए । उनले मुस्लिम समुदाय सबैभन्दा राष्ट्रवादी र खुसी रहेको पनि बताए ।
भवनको विशेषताबारे जानकारी दिँदै ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लि.का इन्जिनियर तथा भवनका डिजाइनर पवन झाले भवनमा मुस्लिम समुदायका विशेष केही कुराहरु हुने भएपनि अन्य धर्म अनुरागीहरुले पनि भवनको सहज रुपमा उपयोग गर्न सक्ने बताए ।
मुस्लिम समुदायको पहिचान झल्किने गरी निर्माण गर्न लागिएको सो भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै मुस्लिम कम्युनिटी सेन्टरका अध्यक्ष जावेदनवी इराकीले निर्माण सम्पन्न गर्न लागि अझै सहयोगको खाँचो रहेको बताए ।

शिलान्यास कार्यक्रममा विभिन्न क्षेत्रका व्यत्तिहरुले भवन निर्माणका लागि शुभकामना दिँदै सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । भवन निर्माणका लागि जावेदनवी इराकीको अध्यक्षतामा मुल समिति,निर्माण समिति र अनुगमन समिति समेत गठन गरिएको छ ।

