विराटनगर, बैशाख ५
नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले नेपालको इतिहासमा पहिलो पटक उच्च आर्थिक बृद्धि दर हाँसिल भएको बताएका छन । विराटनगर–३ स्थित नेरुडे लघुबित्त वित्तिय संस्था लिमिटेडको नवनिर्मित भवनको बुधबार विराटनगरमा उदघाटन गदै उनले यस्तो बताएका हुन् ।
उनले संबिधान,स्थायी सरकार,लोडसेडिङ मुक्त हुनु लगायतका सकारात्मक अवस्थाका कारण आर्थिक गतिविधि बढेको बताए । गर्भनर नेपालले सकारात्मक परिस्थितिहरुमा आर्थिक गतिविधि बढेसंगै तेश्रो पटक ६ प्रतिशत भन्दा माथिको उच्च आर्थिक बृद्धि दर हासिल गर्न सकिएको बताए । गर्भनर नेपालले बैंक तथा वित्तिय संस्था पब्लिक प्रोपर्टी भएकाले नाफा खाने नाममा आफुखुशी गर्न नपाइने समेत बताए ।
उनले बढी नाफा खाने उद्धेश्यले ब्यापार गर्ने भए अरु धेरै क्षेत्र खुला रहेको बताउदै जनताको पैसा लिएर बैंक तथा वित्तिय संस्थाहरुले जनताको विश्वास विपरीतको गतिविधि गर्न नहुने प्रष्ट पारे । गर्भनर नेपालले अहिले पनि देशको कुल जनसंख्याको ५५ प्रतिशत मानिस कुनैपनि बैंक तथा वित्तिय संस्थामा आबद्ध हुन नसकेको बताउदै २० प्रतिशत युवाहरुको अझैपनि खल्तीमैं पैसा राख्ने बानी रहेको बताए ।
सो अवसरमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बैंक तथा वित्तिय संस्थाले मनमौजी ढंगले अत्यधिक ब्याज लिइरहेका कारण उद्योगी तथा ब्यवसायी र बैंकबीच फाटोको अवस्था रहेको बताए । नेरुडेले विराटनगर ३ मा केन्द्रीय कार्यालय राख्ने प्रयोजनले ३ करोड ११ लाख बढीको लगानीमा सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।