विराटनगर,बैशाख ४
प्रदेश १ सरकारको सहकार्यमा प्रदेश १ का १ सय ३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेजहरुमा स्काउट अभियान सुरु भएको छ । नेपाल स्काउट प्रदेश नम्बर १ अन्तर्गत स्काउट आधारभूत तालिमको बुधबार विराटनगरमा उदघाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यस्तो जानकारी दिएका हुन् ।
उनले स्काउटले बालवालिका र युवाहरुलाई मानसिक,सामाजिक र अनुसाशित वनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउने विश्वास व्यक्त गरे । आजको दिनबाट नै प्रदेश सरकारसँग नेपाल स्काउटको सहकार्य सुरु भएको पनि मुख्यमन्त्री राईले उदघोष गरे ।

उनले अवको केही दिन भित्रमा प्रदेशको स्थायी राजधानी र नामाकारण टुङगाउने र त्यसपछि योजनावद्ध विकासको थालनी सुरु गर्ने बताए । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवाहरुलाई दुव्र्यवसनीबाट मुक्त वनाउन तथा परोपकार भवाना जगाउन स्काउटमा लाग्नु पर्नेमा जोड दिए ।

प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसंगति रोक्न र युवाहरुलाई अनुशासित वनाउन नैतिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गरे । कार्यक्रममा ३ सय २७ पुरुष र १ सय ९५ महिलाले तालिममा सहभागिता जनाएका छन् ।