काठमाडौँ, बैशाख ४
मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ ।यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको सो फिल्मको ट्रेलर बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आर.बि खत्री ‘शरद’ ले निर्देशन गरेको सो फिल्ममा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् ।
दुईले एकसाथ स्क्रिन साझेदारी गरेको यो पहिलो फिल्म हो । फिल्ममा अभिनेता सरोज खनाल पुलिस अफिसरको भूमिकामा छन् । रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहेको छ ।
‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक आर.बि खत्रीकै कथा रहेको फिल्मको निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । यस फिल्मलाई राम केसीले खिचेका हुन् ।









