अधुरै रह्यो विश्वकप खेल्ने नेपालको सपना

अधुरै रह्यो विश्वकप खेल्ने नेपालको सपना

विराटनगर, बैशाख ५
यू–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको छ । यूएईले आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ ।

जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो । ६ टोली सहभागी प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान छ ।

वर्षाले खेल बिथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो । यूएई विरुद्धको खेलमा मौसमले साथ नदिँदा नेपालले हार व्यहोर्नु परेको हो । उक्त पराजयपछि अंक तालिकामा नेपाल पछि परेको हो ।

नेपाल आज कुवेतविरुद्ध खेलिरहेको छ । कुवेतले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । तर कुवेतविरुद्ध जित हासिल गरेपनि नेपाल विश्वकपमा पुग्ने छैन । अघिल्ला ४ खेल मध्ये ३ खेलमा नेपालले जित हात पारेको छ ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । यस्तै चौँथो खेलमा ओमानलाई १ सय ५० रनले पाखा लगाउँदै जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपाल युएईसँग १ रनले पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.