रबीन्द्र बराल
रंगेली, वैशाख ७
मोरङको रंगेली नगरपालिका–७, लवटोलीमा बसोबास गर्ने ६५ वर्षीय लक्ष्मी मण्डल एकाबिहानै ५ बजे घरबाट बोरा बोकेर गहुँखेततिर लाग्छन् । घरपरिवार धान्न खानलाउन कतैबाट अरु कुनै उपाय नभएपछि उनी सिला खोजेर आफ्नो परिवारको गुजारा चलाउन बाध्य छन् ।

हिजोआज उनी गहुँ सिला खोज्न व्यस्त छन् । बिहानैभरमा उनी १० केजीसम्म गहुँ सिला खोजिसक्छन् । अहिले तराईमा किसानलाई गहुँखेती भित्र्याउन भ्याइनभ्याई भएका बेला लक्ष्मीले भने खेतमा छोडिएको गहुँ सिला खोजेर जम्मा गरिरहेका छन् ।
घरको आर्थिक अवस्था नाजुक रहेकाले बिहान–बेलुका हातमुख जोड्नका लागि बाली सिला खोज्ने गरेको मण्डलले बताए । आर्थिक दुरवस्थाका कारण उनले छोरीको १४ वर्षकै उमेरमा बिहे गरिदिए । उनीसँग श्रीमती र छोरी साथमा नभएका होइनन्, तर दुवै जना अपांग भएकाले भातभान्साको जोहो आफैं गर्नुपर्छ ।

१० वर्षका छोरा र श्रीमती दुवैको खुट्टामा समस्या छ । लक्ष्मीको समेत उच्च रक्तचापका कारण एक भागले राम्रोसँग काम गर्दैन । यसैकारण उनी हलुका काममात्रै गर्न सक्छन् । बाली उठाउने हरेक सिजनमा उनी खेतबारीमा पुग्छन् । कहिले धान सिला खोज्छन्, कहिले गहुँ त कहिले मकै । यसैबाट उनको गुजारा चल्दै आएको छ । बाली उठाउने सिजनदेखि बाहेक उनी दैनिक मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएका छन् ।