मुख्यमन्त्री राईद्वारा भोजपुरमा साढे १३ करोडको कालोपत्रे सडक शिलान्यास

मुख्यमन्त्री राईद्वारा भोजपुरमा साढे १३ करोडको कालोपत्रे सडक शिलान्यास

विराटनगर, बैशाख ७
भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रेको शनिबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश सरकारको यसै आर्थिक वर्षको बजेटबाट कालोपत्रे गर्न लागिएको ५ किलोमिटर सो सडकको कुल लागत १३ करोड ५३ लाख ९८ हजार २ सय २७ रहेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेडीका अनुसार सो सडक निर्माणको लागि ठेकेदार कम्पनी रायामाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ ।

सडक कालोपत्रेको काम १८ महिनाभित्र सक्ने गरि सम्झौता गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधी श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिवद्धता जनाए ।

सडकको शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ को १४ जिल्लाभरिमै यस आर्थिक वर्षको सबैभन्दा छिटो शुरु भएको यति ठूलो राशीको योजनाको रुपमा भोजपुर –एयरपोर्ट सडक कालोपत्रे रहेको भन्दै यो प्रदेशको गौरवको आयोजना भएको बताए ।

आफू अहिले दिनसक्ने हैसियतमा डाडुपन्यु लिएर बसेकाले भोजपुर जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको प्रतिवद्धता थियो । उनले चाँडै नै भोजपुरमा अन्तराष्ट्रिय मापदण्डको फुटबल रंगशाला, ट्याम्के डाँडामा भ्यू टावरको शिलान्यास गरिने जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.