एजेन्सी,बैशाख ७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि जारी इन्डियन प्रिमियर लिग(आईपीएल) को ३७ खौं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।
पन्जवाको लागि ओपनर क्रिस गेलले ६९ रनको योगदान दिए । १३ ओभरको दोस्रो बलमा सन्दीपले अक्षर पटेलबाट बाउन्ड्री लाईन नजिकै क्याच आउट गराउनु अघि गेलले ३७ बलमा ५ छक्का र ६ चौका प्रहार गरे ।दोस्रो ओभरको चौथो बलमा सन्दीपले अर्का ओपनर के एल राहुललाई विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गर्दै १२ रनमा पेभिलिए फर्काएका थिए । पन्जावका मिडिल अडरका मयंक अग्रवाल २ र डेविड मिलर ७ रनमा आउट भए ।
पन्जावको एकतर्फबाट विकेट गुम्दा अर्को तर्फबाट क्रिस गेलले आक्रमक रुपमा रन जोडि रहेका थिए । तर सन्दीपले १३ ओभरको दोस्रो बलमा क्याच आउट गराएपछि पन्जाव ठूलो योगफल बनाउनबाट चुकेको हो । यसै ओभरको अन्तिम बलमा सन्दीपले युवा अलराउण्डर साम करनलाई आफैं क्याच लिदै शुन्यमा पेभिलिएन फर्काएपछि पन्जाव संकटमा परेको थियो ।
पन्जावका तल्लोक्रमका मन्दीप सिंहले ३० र रविचन्द्र आश्विनले १६ रनमा आउट भए ।पन्जावलाई सस्तैमा रोक्न सन्दीपले४ ओभरमा ४० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै कागिसो रवडा र अक्षर पटेलले समान दुई विकेट लिए ।
यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीपले पन्जाबविरुद्ध चार ओभरमा ४० रन खर्चिएर तीन महत्वपुर्ण तीन विकेट हात पारे ।
पञ्जाव विरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दिपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दिपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दिपले टिमका लागि पहिलो सफलता दिलाए । उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए ।
त्यसपछि उनले बाँकि दुई बलमा एक रन मात्र दिए । पहिलो ओभरमा ११ रन दिएका सन्दिपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे ।
टिमको १३ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ६ रन दिएर दुई विकेट लिए । पहिलो बलमा नै छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दिपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । त्यसपछि सन्दिपले कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे ।
त्यसपछि आफ्नो अन्तिम ओभरमा पनि सन्दिपले एउटा अर्को विकेट लिने मौका सिर्जना गरेका थिए । मन्दिप सिंहले प्रहार गरेको बललाई रावाडाले ड्रप गरे । सो ओभरमा सन्दिपले मात्र सात रन खर्चिए ।